काठमाडौं, कात्तिक २५ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । लिङ्देनको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए। उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो।
किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए। जसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो। किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।