Kath khabar
महिला क्रिकेट : हङकङसँग नेपाल ९ विकेटले पराजित

                  

                     काठमाडौं, कात्तिक ३० । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।

हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिएकी हुन । त्यस्तै शानजिन शहजादले २० रन बनाइन् । मारिको हिलले ५ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै आउट भइन् । बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update