काठमाडौं, मंसिर १ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको छ।
बिहीबार कोलकत्तामा भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो। दुई सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो।
टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले डेविड मिलरको शततकको मद्दतमा ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै दुई सय १२ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि ओपनर ट्रेविस हेडले अर्धशतक प्रहार गरे। ४८ बलको सामना गरेका ९ चौका र २ छक्का प्रहार गर्दै उनले ६२ रन बनाए।
दक्षिण अफ्रिकाका लागि डेविड मिलरको शतक गरे। हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए। अब फाइनल खेल मंसिर ३ गते आइतबार अहमदाबादस्थित नरेन्द्र मोदि रंगशालामा अस्ट्रेलिया र भारतबीच हुनेछ ।