काठमाडौं, मंसिर १ । विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग पराजित भएको छ । यूएईको घरेलु मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली ४-० ले पराजित भएको हो ।
खेलमा युएईले तीन सेटपीस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गर्यो। उसका लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे।
एसियाली फुटबलको बलियो राष्ट्र यूएईविरुद्ध नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रर्दशन गर्यो। डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केहि आक्रमणलाई विफल पारेका थिए । नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।
यही खेलमार्फत् नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्। खेलमा पहिलो रोजाईँमा खेल्दै डिफेण्डर छिरिङले डेब्यु गरेका हुन् । जावलाखेल युथ क्लबबाट घरेलु फुटबल खेल्ने छिरिङले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका हुन् र पहिलो पटकमै उनले डेब्युको अवसर पाए ।
यस्तै थ्रीस्टारका युवा डिफेण्डर योगेश गुरुङ र नेपाल पुलिस क्लबबाट खेल्ने अर्का डिफेण्डर अन्जन राईले पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । योगेश ४६औं मिनेटमा अमृत श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । यस्तै अन्जनले ८५औं मिनेटमा छिरिङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे । छिरिङ र योगेशसहित फरवार्ड राजेश परियार पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
नेपालले नोभेम्बर २१ मा दोस्रो चरणको दोस्रो खेल यमन विरुद्ध खेल्नेछ। उक्त खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ।