Kath Khabar
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला

 

                 चितवन, मंसिर १ ।  चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत सतरचुली पोस्टबाट ३.५ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खाग विहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, ६ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन । 

६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । 

बिहीवार बेलुकी मात्र घटनाको विवरण आए लगत्तै अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्जमा चोरी शिकारबाट पहिलो पटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले ५ वटा गैँडा मरेका छन् । गएको वर्ष तस्करले अमलटारी क्षेत्रमा २ वटा गैँडा मारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update