Kath khabar
आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै


                काठमाडौं, मंसिर ३ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी मनाइँदैछ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

परम्परागत रूपमा तराईमा केन्द्रित छठ यताका वर्षमा काठमाडौँ उपत्यकामा पनि उत्साहजनक रूपमा विस्तार भएको छ । धनी, गरिब, मधेसी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा छठ पर्व लोकप्रिय बन्दै गएको छ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ ।

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update