Kath khabar
बोयर जातका खसी बोकाले बजार नपाएपछि किसान चिन्तामा

 

                 म्याग्दी, मंसिर ४ ।  करिब डेढ दशक खाडी मुलुकमा बसेर काम गर्दा ठेला उठेको रित्तो हात र ७ लाख रूपैयाँ ऋण बोकेर घर फर्किंदा म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली डाँडाखानीका धनबहादुर श्रीष निराश थिए। उनलाई त्यसबेला छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र घरायसी खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलिरहेको थियो।

उनले घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाटै व्यावसायिक बाख्रापालन गर्ने सोच बनाएर २०६८ सालमा जग्गा धितो राखेर एउटा बोएर बाख्रा खरिद गरे। कुनै समय विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न घरमै जसोतसो गरेको बाख्रापालन अहिले पैसा आउने मूल स्रोत बनेको छ।

स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्र आफ्नै घरमा बनाएर बोयर बाख्रापालनबाट करोडपति भएका श्रीष अहिले भने निराश छन्।

अहिले फार्ममा भएका खैरो र सेतो रङ मिसिएको २ वटा बोका सहित बोयर जातका सत प्रतिशत शुद्ध बाख्रा र पाठापाठीलाई रोजेर ८० हजार नै दिन्छन्। पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रालिबाट बाख्रा पाल्न सुरू गरेका श्रीसले नेपालभरि बिक्री गर्दै आएका छन्।

२/३ वर्ष पहिले बोयरका बोका र पाठीलाई २ लाख रूपैयाँमा बिक्री गर्दा वार्षिक ६० लाख रूपैयाँको कारोबार गरेका श्रीषले अघिल्लो वर्ष १२ लाखको मात्रै कारोबार गरेको बताए। ‘गाउँघरमा युवाहरू छैनन्, बाख्रापालन गरेका युवाहरू पनि विदेश लागे, अहिले बोयर जातका बाख्राको बजार धेरै तल झरिसक्यो’ अगुवा कृषक श्रीषले भने।

श्रीसले आफ्नो फार्ममा करिब २ करोड लगानी रहेको बताए। फार्ममा पाठाहरू जन्माउने १५ वटा माउ बाख्रा र अन्य साना पाठापाठी छन्। अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका उनले जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने लगायतका विशेषता यसजातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाइ गरेको अनुभव समेत उनीसँग छ।

अहिले बोयर जातिका बोकालाई उत्पादन बढाउन छोडेर मासुको रूपमा प्रयोग गरेको बताए। नश्ल सुधारका लागि दुईवटा बोका फार्ममा पालिरहेका श्रीषले मासुका लागि प्रयोग गर्ने तयारी गरेको बताए।

‘अहिले धेरै बाख्रापालक कृषक निराश छन्, ‘एकवर्ष यस्तै भए धेरै बाख्रा फार्म बन्द हुन्छ’ म्याग्दीकै नमुना बाख्रापालक समेत रहेका श्रीषले भने। उनले सामुदायिक बन जंगलको चरन क्षेत्र प्रयोगको वातावरण नहुँदा धेरै युवा कृषकहरू महँगोमा घाँस किन्न बाध्य भएको बताए।

आर्थिक संकट, युवाको पलायन, बाख्रापालनमा लागेकालाई अनुदान सहित सहुलियत कर्जा, कृषि र पशुपालनमा सरकारी निकायबाट बजेट विनियोजनमा गरिएको बेवास्ताका कारण बाख्रापालनमा लागेकाहरू पलायन  भएको बताए।

२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब १ करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update