Kath khabar
दुर्गा प्रसाईँ र युवा संघलाई माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय

              

                     काठमाडौं, मंसिर ५ । मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको थियो । दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाएका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । एकैदिन एकैठाउँमा दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update