काठमाडौं, मंसिर ६ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राति पार्टी प्यालेसबाट दुर्व्यवहार गर्दै महिला निकालेको घटनामा युवा संघ नभएको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले भने “अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । सार्वजनिक भएको भिडियोमा युवा संघको कुनै संलग्नता छैन । मैले फोन गरेर पनि सोधेँ ।”
उक्त घटनामा युवा संघको नाम मुछिएपछि बुधबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो संलग्नता भएको कुरालाई अस्विकार गरेको छ । संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रम फैलाइएको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
"मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको बेहोरा जानकारी गराउँछौँ। यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।