Kath khabar
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरिँदै

 

                 काठमाडौं, मंसिर ७ । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् । यस घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । हरिबोधनी एकादशीको अवसरमा आज पशुपतिमा पूजाआजा गरिन्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।


 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update