काठमाडौं, असार ११ । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधीको दोस्रो संशोधन कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैकले आज शुुक्रबार जारी गरेको उक्त निर्देशन अनुसार पुर्नकर्जा प्राप्त गर्ने योग्य ग्राहक तथा फर्महरुले न्युनतम तीन देखि पाँच प्रतिशतसम्म व्याजमा २० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
पुर्नकर्जा कार्यबिधी २०७७ को दोस्रो संसोधन प्रस्तुत गर्दे राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको हो । यो व्यवस्था अनुसार पुर्नकर्जालाई तीन भागमा बर्गिकरण गरिएको छ । जसमध्ये पहिलोमा लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुर्नकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा मानिनेछ ।
विशेष पुर्नकर्जा अन्तर्गत बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुर्नकर्जालाई विशेष पुर्नकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम तथा व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न तथा दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरुमा प्रदान गरिएको पुर्नकर्जाहरूलाई मानिनेछ ।
यसैगरी साधारण पुर्नकर्जा अन्तर्गत बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुर्नकर्जाहरूलाई साधारण पुर्नकर्जा मानिनेछ । पुर्नकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाले बैंकलाई तिर्नुपर्ने ब्याजदर र सम्बन्धित ग्राहक, ऋणीहरूबाट लिने ब्याजदर बैंकले समय समयमा तोके बमोजिम हुनेछ । परिपत्र अनुसार लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा अन्र्तगत नेपाल राष्ट्र बैंकले लिने व्याजलर दुुई प्रतिशत र ईजापत्रप्राप्त संस्थाले ग्राहकबाट लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ । यसैगरी बिशेष पुर्नकर्जा अन्तर्गत नेपाल राष्ट्र बैंकले लिने व्याजदर एक प्रतिशत र इजाजतपत्र प्राप्त संस्थाले ग्राहकबाट लिने व्याजदर तीन प्रतिशत तोकिएको छ । यसैगरी साधारण पुर्नकर्जा अन्तर्गत नेपाल राष्ट्र बैंकले लिने व्याजदर तीन प्रतिशत र इजाजतपत्र प्राप्त संस्थाले सम्वन्धित संस्थासंग लिने व्याजदर पाँच प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुर्नकर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँ हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुर्नकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोडसम्म पुर्नकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुर्नकर्जा रकम कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन । तर, बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुर्नकर्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर समेत सकिने उक्त व्यवस्थामा उल्लेख छ ।