काठमाडौं, मंसिर ११ । शिख धर्मका प्रवर्तक गुरु नानकको आज ५५५औं जन्मजयन्ती । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरु नानक देवका वचनहरू, उहाँका बहुमूल्य वचनहरू, असल विचारहरू, उहाँद्वारा दिनुभएको शिक्षाले आज पनि मानिसहरूलाई सत्य र सही मार्गमा लाग्न प्रेरित गर्दछ। गुरु नानक देवलाई नानक देव, नानक शाह जस्ता नामले पनि सम्बोधन गरिन्छ। आज सिख धर्मावलम्बीहरुको लागि विशेष दिन हो । यी मानिसहरूले गुरुदेवको जन्मजयन्तीलाई पर्वको रूपमा मनाउँछन्।
गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । यस स्थानलाई अहिले ननकाना भनिन्छ। गुरू नानक शिख धर्मावलम्बीका प्रथम गुरूसमेत हुनुहुन्छ । उहाँलाई उहाँका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन्।
सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए। उहाँ ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ। यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन्।
उहाँको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उहाँले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरू अंगददेवलाई जिम्मा लगाउनु भएको थियो। भारतको पंजाबमा रहेको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गर्दैै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन्।