काठमाडौं, मंसिर १० । मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुशीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफूलाई झन्–झन् दुःखतिर धकेलिरहेको अवस्था छ ।
दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा धकेलिरहेको हुन्छ । मान्छेले आफ्नो स्वार्थ र खुशीको लागि नराम्रो कर्म गरिरहेको छन् । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरुको हितको लागि गर्नुपर्छ । मनमा बोधि चित्त उत्पन्न गर्नु पर्छ अर्थात राम्रो चित्त बनाई लोकजनको उपकार गर्नु करुणा हो । कसैको कुभलो नचिताई राम्रो चित्त राख्नाले वोधिज्ञान प्राप्त भई वोधिसत्वको मार्गमा पुग्न सकिन्छ भन्ने कुरा यस सांस्कृतिक नाटक ‘बोधि–सत्त्व’ मा देखाउन खोजिएको छ ।
नाटकको परिकल्पना, लेखन तथा निर्देशन चर्या नृत्य गुरु चन्द्रमान मुनिकारज्यूले गर्नु भएको हो भने नाट्य रुपान्तरण इँगिहोपो कोँइच सुनुवारले गरेको हो । यस नाटकमा मुख्य पात्रको रुपमा सुदन मुनिकार तथा कलाकारहरु संगिता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अन्जु श्रेष्ठ, नविन काफ्ले, नानुमैया महर्जन र सचिन लामा हुनुहुन्छ भने संगीत संयोजनमा निरज शाक्य र यचु शाक्य छन् । यस नाटकलाई ममा आर्ट्सको सहकार्यमा बज्र कला कुञ्जको प्रस्तुति रहेको छ । यस नाटकको लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ ।
बज्र कला कुञ्जले यस अघि नामसंगति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरु पनि मञ्चन गरिसकेका छन् भने कला कुञ्ज तिन दशक देखि निरन्तर रुपमा नेपालको मौलिक कला, संस्कृति मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन तथा उत्थानमा लागि परेको छ ।
यो नाटक यही मंसिर २० गतेदेखि पुष ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुनेछ । ममा आर्ट्सको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग रहेको यो नाटकको अग्रिम बुकिङको लागि ९८४१२२५११६ र ९८४३०१२९२७ मा सम्पर्क गर्न सकिनेछ ।