Kath khabar
आजको मौसम : रातिबाट मौसम विस्तारै सुधार हुँदै जाने

 

                    काठमाडौं, मंसिर १२ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले काठमाडौँको आकाश खुलेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज रातिबाट मौसम विस्तारै सुधार हुँदै जानेछ भने देशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा नै रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update