Kath khabar
सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला

 

               सिरहा, मंसिर १२ ।  कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।

पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन्। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौँ मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन्।

धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन्। भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ-आफ्नोघर लैजाने गर्छन्।

मूल धामीले मन्त्र सिद्धि गरिदिए पछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ। तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुति दिने चलन रहँदै आएको छ। स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्दछन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ।

मिथिलामा पहिले देखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ। यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहे पनि अन्धविश्वासको रुपमा नभई यो लोक आस्था रहेको संस्कृतिविद् एवं मैथिलीका साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले बताए।

मुख्यतः ग्रामीण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुले नै यो परम्परा धान्दै आइरहेको कतिपयको भनाई छ। घर परिवारका कुनै सदस्यलाई हानि नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्ति मार्फत देउताले दिने तथा रक्षा समेत गर्ने गरेको जनविश्वास छ।

सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकड लगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update