Kath khabar
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान

 

                कैलाली, मंसिर १२ ।  कैलालीको जानकी गाउँपालिका-७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइ अन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

उनीहरूले दैनिक डेढ किलोमिटर भन्दा बढी सफाइ गर्ने गरेका छन् । ४८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने यो नहर झार जङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा गर्न थालेका भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताउनुभयो । '११ किलोमिटर लामो कुलो ४ दिन देखि सफा गर्दैछौँ', अध्यक्ष गिरीले भन्नुभयो, 'हजारौँ किसान सहभागी छौँ । यतिखेर गहुँ तथा तोरी खेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ ।' 

उहाँले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । 'विधिवत रूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एक पटक पनि बजेट आएको छैन', गिरीले भन्नुभयो, 'किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैँ जुटेका हौँ ।' 

१२ गाउँका किसानले भाग अनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँ अनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।

'महिला पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ', स्थानीय फूलबसिया चौधरीले भन्नुभयो, 'कतैबाट सहयोग नभए पछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।' 

कुला प्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । 'किसानका बारेमा सुन्ने कोही भएनन्', स्थानीय खैरे विश्वकर्माले भन्नुभयो, '११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् । खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन ।'

बडघर किसान सबै मिलेर सिँचाइका लागि ४ दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताउनुभयो  । 'कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ', उहाँले भन्नुभयो  'कुलो सफा गरेपछि नागरिक पनि खुसी छन् । हामी अगुवा पनि खुसी भएका छौँ ।'

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update