काठमाडौं, मंसिर १४ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बाँकी भू-भागका आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
यस्तै, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम बिहानैदेखि धुम्मिएको छ ।