काठमाडौं, मंसिर १५ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास बीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप ८ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ति बुधवार २ र सातौँ दिन हिजो बिहीवार ८ सहित हमासले १० जनालाई रिहा गरेको छ । इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ ।
हमासले १ जना बन्धक रिहा गरे बापत इजरायलले ३ जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो । हमास र इजरायल बीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवार देखि लागू भएको हो । इजरायल र हमास बीच हिजो १ दिनका लागि युद्धविराम थपिएको थियो । यो अवधि सकिएसँगै फेरि विस्तार गर्ने या नगर्ने अन्योल छ । तर युद्धविराम थप गर्न निरन्तर छलफल र वार्ता चलिरहेको छ । कतार, अमेरिका र इजिप्टको पहलमा २ पक्षसँग छलफल भैरहेको बीबीसीले जनाएको छ ।
इजरायलले सात दिने युद्धविरामको अवधि सकिएलगत्तै फेरि दक्षिणी गाजा क्षेत्रमा हवाइ आक्रमण थालेको छ ।
इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको सञ्चार माध्यमहरुले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको छ ।
इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले बताएका छन् । उता इजरायलतर्फ पनि १२ सयको मृत्यु भएको छ ।
इजरायली आक्रमणमा गाजा पूर्णरुपमा ध्वस्त भएपछि अन्तर्राष्ट्रिय समूदायको दबाबमा ६ दिनसम्म अस्थायी युद्धविराम लागू भएको थियो । युद्धविराम लागू भएको समयमा हमास र इजरायली सेनाले आआफ्ना कब्जामा रहेका बन्दीहरू रिहा गरेका थिए ।