चितवन, मंसिर १५ । चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा खाडलको धरापमा पारेर २ वटा गैँडा मारी खाग तस्कर गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । गैँडालाई खाल्टोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने अभियुक्तलाई बिहीबार निकुञ्जको कार्यालय कसरामा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाका अनुसार निकुञ्ज भित्र खाल्टो खनेर त्यसलाई प्राकृतिक बनाई गैँडालाई पासोमा पारिएको अनुसन्धानले देखाएको छ । गैँडा मार्न तस्करले ७ वटा खाल्टो खनेका थिए । खाल्टोलाई प्राकृतिक बनाउन र गैँडालाई आकर्षित गर्न खाल्टो माथि गैँडालाई मन पर्ने घाँसले छोपिएको ढुंगानाले बताए ।
ढुंगानाले भने, ‘अभियुक्तहरूले चार्डपर्वको अवसर पारेर खाल्टो खन्ने लगायत आपराधिक क्रियाकलाप गरेको अनुसन्धानमा देखिएको छ । पासो थापे पछि शिकारीहरू करिब एक किलोमिटरपर सानो मचानमा बसेका थिए ।’ अध्ययनका क्रममा चाउचाउका खोल, पानीका बोतल, प्लास्टिक ब्ल्यांकेट, टर्च, डेक्ची लगायत सामान गैँडा मरेकै क्षेत्रमा भेटिएको थियो । शिकारीले आगो बालेजस्तो पनि देखिन्छ । गैँडा पासोमा परे नपरेको प्रत्यक्ष हेरेरै बसेको र खाल्टोमा फसे पछि त्यसलाई मारेर खुर काटेको देखिन्छ ।’
ढुंगानाले ५ दिनअघि गैँडा मरेको क्षेत्रमा सुरक्षा गस्ती गएको पत्रकार सम्मेलनमा बताए पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै वास बसेर सो घटना घटाएको जनाएको छ । ३० कात्तिकका दिन निकुञ्जको पूर्वी क्षेत्रस्थित कोर इलाका चपरचुली सुरक्षा पोस्टबाट करिब ३.५ किलोमिटर दक्षिण-पूर्व चुरे पहाडको फेदी क्षेत्रमा २ वटा अलग अलग खाल्टोको धरापमा १८ र ६ वर्षका पोथी गैँडा खाग विहीन अवस्थामा मृत फेला परेका थिए ।
आठैजना पहिलोपटक तस्करीमा सामेल :
पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिका-५ र ६ को क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनका अनुसार गत ९ मंसिरमा ६ जना चितवनको राप्ती-६ बाट पक्राउ परेका थिए ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती, राप्ती-११ थाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान, मकवानपुरको राक्सीराङ गाउँपालिका-९ घर भई हेटौँडा-४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ५६ वर्षीय थिङ बाजे भन्ने गरिएको सीताराम थिङ, रोल्पाको सुनछहारी-६ फगाम घर भई हेटौँडा-५ बस्ने अर्जुन रोका र गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ राप्ती-६ बाट पक्राउ परेका थिए । त्यसको २ दिनपछि चितवनको कोराक घर भई राप्ती-११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुरको मनहरी-७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ राप्ती-५ बाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमध्ये रमेश खाती, सीताराम थिङ मुख्य योजनाकार तथा गैँडाको खाग बिक्री वितरण गर्ने व्यक्ति रहेको पुनले बताए । खाती केही वर्षअघि पनि शंकास्पद भनेर निकुञ्जले पक्राउ गरेको थियो । तर, त्यतिखेर उनी विरूद्ध प्रमाण पुग्न सकेको थिएन । यस्तै, शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरुङले खाग बिक्री वितरणको काम गरिरहेका थिए । आइतेसिंह मोक्तान, उनबहादुर स्याङ्तान र इन्द्रबहादुर तामाङ गैँडा मार्ने सिकारी हुन् । पुनका अनुसार उक्साहटमा गैँडा मार्न उत्प्रेरित भएका थिए ।
अनुसन्धान टोलीले उनीहरूको साथबाट ४८० ग्राम र ६० ग्राम तौलको २ थान खाग, २ थान पल्सर मोटरसाइकल सहित १६ प्रकारका सामग्री बरामद गरेको छ । अनुसन्धानले यो घटनामा पेसेवर भन्दा पनि खाग बेच्न सक्यो भने पैसा कमाउन सकिन्छ भन्ने कुराले प्रेरित व्यक्तिहरू संलग्न रहेको देखाएको छ । यो कार्यमा संग्लन हुनुअघि उनीहरू सामान्य खेतीपाती गरेर जीविका चलाउने गरेको अहिलेसम्मको अध्ययनले देखिएको छ ।
उनीहरूले यी २ गैँडा पनि खाग कहाँ लगेर बेच्ने भन्ने योजना विनै मारेका थिए । ग्राहकको खोजीमा रहेका उनीहरू सामु सिआइबीका अनुसन्धान अधिकृतहरू खाग किन्ने ग्राहक बनेर पुगेका थिए । पक्राउ परेका ८ जनालाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । निकुञ्जले ४५ दिनसम्म राखेर अनुसन्धान गर्न सक्छ । गैँडा दुर्लभ वन्यजन्तु भएका कारण मारेमा वा अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा छ ।
यस घटनामा वन तथा वातावरण मन्त्रालयले १ मंसिरमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदन सार्वजनिक नगरे पनि महानिर्देशक ढुंगानाले त्यो प्रतिवेदनमा निकुञ्जको कमजोरी, सेनाको कमजोरी, सुरक्षा व्यवस्था चुस्त कसरी गर्ने भन्ने विषयमा सुझाव आएको बताए । निकुञ्ज भित्रको गस्ती प्रणालीलाई थप चुस्त बनाएर संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा भएको उनले जानकारी दिए ।