काठमाडौं, मंसिर १५ । राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गर्दै माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गरेको हो । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यतालिकाबारे जानकारी दिएको हो।
कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय भएको छ । राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ ।
पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई अर्थात २० जना सांसदको पदावधि सकिँदैछ । संविधानमा यसरी कार्यकाल सकिँने ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने ब्यवस्था रहेको छ । सरकारले गत ७ गते बसेको मन्त्रिपरिषद्कोृ बैठकमा ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले तयारी गरेको छ।