काठमाडौं, मंसिर १५ । गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि 'नेसन्स गट ट्यालेन्ट' नामक रियालिटि शो हुने भएको छ ।
नेसन्स गट ट्यालेन्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालिटी शोको घोषणा गरेको हो । एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेसन्स गट ट्यालेण्टका निर्देशक लवबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए ।
बालबालिकाका लागि गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालिटी शोमा ख्यातिप्राप्त अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातिप्राप्त गायक आनन्द कार्की र गायिका देविका वन्दना निर्णायक रहने छन् ।
रियालिटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुँइटेल कार्यक्रम संयोजक, शम्भुप्रसाद रेग्मी इभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका छन् । लवबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालिटी शोमा सूर्य गुरुङ मुख्य सहायक निर्देशकमा रहेका छन् ।
पत्रकार सम्मेलनमा नेसन्स गट् ट्यालेन्ट रियालिटि शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने ‘छ महिनाअघिबाट हामीले गर्दै आएको तयारीले आज मुर्तरुप लिएको छ । चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाडौंमा अडिसन शुरु गर्नेछौँ। काठमाडौं लगायतका देशका प्रमुख शहरमा अडिसन राखिनेछ भने कुनै पनि ठाउँका बालबालिकाले यसमा सहभागिता जनाउन सक्नेछन् ।’ रियालिटी शोका अर्का निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट् ट्यालेन्ट लिएर आमदर्शक माझ प्रस्तुत गर्न लागिएको बताए ।
रियालिटी शोकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा आफूमा राम्रो प्रतिभा राम्रो छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालिटी शो उपलब्धिमूलक हुने चर्चा गर्दै प्रतिभाशाली बालबालिकासँग काम गर्न आतुर रहेको बताइन् ।
अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालिटी शोले बालबालिकाको व्यक्तित्व र प्रतिभा वृद्धिका लागि सघाउने चर्चा गरिन् । अर्की निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालिटी शोलाई लिएर उत्साहित रहेको बताइन् ।
सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामूलक रियालिटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेसन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए । एपी वान टेलिभिजनका प्रधानसम्पादक निरजराज जोशीले एपी वानले विभिन्न रियालिटी शो प्रसारण गर्दै जाने क्रममा नेसन्स गट ट्यालेन्टको परिकल्पना आकर्षक लागेकोले प्रसारण गर्न लागेको जानकारी गराए । शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाइन पे इन्टरनेशन भोटिङ पार्टनरका रहेका छन् ।