Kath khabar
ककनीमा फोहोरको गन्धले कृषि उत्पादनमा समेत ह्रास

 

                  काठमाडौं, मंसिर १७ ।  २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् । फोहोरले घेरिएको ककनी गाउँपालिका वडा नम्बर १ सिसडोल, वडा नम्बर २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्या देखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ।

त्यस क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीमा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ । सरकारले फोहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ ।

फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ । उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए । किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ ।

यस क्षेत्रका किसानहरुले लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् । ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा–१ सिसडोल, वडा–२ ओखरपौवाका साथै वडा–३ चाउथेमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गर्नुभयो । उहाँले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गर्नुभयो ।

कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताउनु भयो । उहाँले बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गर्नुभयो । उहाँले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका बताउनु भयो । उहाँले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको सिसडोल, ओखरपौवा र चाउथेमा कृषि उत्पादनमा किरालाग्न थालेको छ । किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरु लाग्न थालेको छ । बिरुवाहरु नै फस्टाउन नसक्ने जस्ता समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा धेरै ह्रास आएको छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा किरा नलाग्नुपर्ने भए पनि अहिले यो क्षेत्रमा फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका छन् । कागती, सुन्तला जस्ता फलफूल उत्पादन फोहोरको गन्धले नष्ट भएर गयो । फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गरेको छ । पशुपन्क्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेको छ ।’

उहाँले भन्नुभयो, ‘२२ वटा भन्दा बढी पालिकाको फोहोर बञ्चरेडाँडामा अवैज्ञानिक रुपमा विसर्जन गर्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर परेको छ । जसमा ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ । बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर, निबुवा, जुनारमा भित्र किरा लागेर खानै नहुने भएको छ ।’

उहाँले भन्नुभयो, ‘सरकारले काठमाण्डौ उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय स्वास्थ्यमा प्रमुख असर परेको हो । मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि बालीहरु उत्पादनमा समेत असर परेको छ । जसको असरले कृषि उत्पादनमा ह्रास आउन थालेको छ । काठमाण्डौ उपत्यकाको फोहर अस्तव्यस्त रुपमा फालेको छ । अझ फोहोरको दुर्गन्ध कम गर्न विभिन्न केमिकलहरु प्रयोग गरेको छ । तर फोहरको गन्धले भन्दा पनि केमिकलले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको छ ।’ 

काठमाण्डौ उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा जथाभावी फालिदिँदा डम्पिङ साइट नजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धुनीबेसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरु बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र सरकारको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा फोहोरबाट प्रभावित स्थानीयहरुकोहरुको बस्ती स्थानान्तरण गरी न्याय दिनमा जानु जरुरी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update