संयुक्त अरब ईमिरेट्स, मंसिर १८ । संयुक्त अरब ईमिरेट्सले सन् २०२४ को जनवरी १ देखि तेल उत्पादन घटाउने निर्णय गरेको छ। स्वेछिक रुपमा युएईले प्रत्येक दिन १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो। यो कटौती सन् २०२४ को मार्च अन्तिमसम्म जारी रहनेछ।
तेल निर्यात गर्ने देशहरु (ओपेक प्लस) सँगको सहकार्यमा युएईले यो निर्णय गरेको हो। यससँगै अब मार्चको अन्तिमसम्म युएईले प्रत्येक दिन २९ लाख १२ हजार ब्यारेल तेल मात्र उत्पादन गर्नेछ। त्यसपछि बजारलाई स्थिर बनाउन अवस्था हेरेर उत्पादन क्षमता फेरि बढाइनेछ।
सन् २०२३ को अप्रिलमा युएईले १ लाख ४४ हजार ब्यारेल प्रति दिन तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो। सो निर्णय सन् २०२४ को अन्तिमसम्म लागू हुने तय थियो। अहिले गरिएको निर्णय पहिलाकै कटौतीमा थप हुनेछ।
तेल बजारलाई स्थिर र सन्तुलित बनाउन ओपेक प्लस देशहरुले तेल उत्पादनमा स्वेछिक कटौती गर्ने सहमति गरेसँगै युएईले यो निर्णय गरेको हो। ओपेक प्लस देशहरुले प्रति दिन २२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन्। ती कटौती पनि सन् २०२४ को जनवरी देखि मार्चसम्म लागू हुनेछ।