Kath khabar
मनाङमा वर्षासँगै हिमपात, काठमाडौंमा चिसो, तराईमा हुस्सु

 

                   काठमाडौं, मंसिर १९ ।  हिमाली जिल्ला मनाङमा वर्षासँगै हिमपात भएको छ । गत वर्ष असोज अन्तिममा  हिमपात भएको थियो । जिल्लाको माथिल्लो र तल्लो क्षेत्र चामेमा पनि वर्षासँगै हिमपात भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

हिमपात शुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् । हिमाली जिल्ला मनाङमा यो वर्षकै पहिलो हिमपात भएको हो ।

सोमबार बिहानै देखि मनाङमा हिमपात भएको हो । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै हिमपात शुरु भएको छ । 

स्थानीय याङडुङ गुरुङले समयमा हिमपात हुँदा किसान खुसी भएको बताए  । 'हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले शुरुवात भएको छ, यसले किसानलाई फाइदा हुन्छ', उनले भने । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए ।

समयमै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए । पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ। 

पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो । आइतबार अधिकतम तापक्रम २१.२ डिग्री सेल्सियस थियो ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबार भने काठमाडौंको मौसममा केही सुधार आउन सक्छ । ‘काठमाडौंमा तत्काल वर्षाको सम्भावना छैन, आकाश बादलले ढाकेर चिसो भएको हो । आकाश खुल्दै पश्चिमी वायुको असर पूर्व सर्दै जाँदा काठमाडौंमा घाम लाग्न सक्छ,’ उनले भने, ‘मंगलबार कोशी र मधेश प्रदेशमा बदलीको सम्भावना छ ।’

हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगैै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको असर छ । यस बाहेक बंगालमा बनिरहेको चक्रवातको असरका कारण पनि मंगलबार र बुधबार मधेशसँगै कोशीमा बदली हुन सक्ने अनुमान छ । मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

बदलीसँगै तराईमा भने हुुस्सु लाग्न थालेको छ । सोमबार बिहान सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमतीका तराईमा सामान्य बदली थियो भने धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरमा हुस्सु लागेको थियो । हुस्सुका कारण भिजिबिलिटी (पारदर्शिता) पनि घट्न थालेको मौसमविद् अधिकारीले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update