Kath khabar
चोरी गरी अमेरिका पुर्‍याईएका ४ वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

 

                   काठमाडौं, मंसिर १९ ।  विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरूले अमेरिका पुर्‍याएका ४ वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धान पछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्त्विक वस्तुहरू फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहल पछि अमेरिकी सरकारले लामो अनुसन्धान पछि मात्र यी मूर्तिहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कार्यवाहक महावाणिज्य दूत गौतमले नेपालको पुरातात्त्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा २ वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update