रुकुम पश्चिम, मंसिर २० । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विक सहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।
मङ्गलवार न्यायाधीश खड्क बहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरूलाई २ वर्ष कैद फैसला गरेको छ ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका नवराज विक र उहाँका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव २ हप्तासम्मको खोजी पछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए ।
यो घटनाको मुद्दामा गएको आइतवार देखि अन्तिम सुनुवाइ शुरु भएकोमा आज अन्तिम आदेश आएको हो । दोषीहरूलाई जातीय छुवाछुतको कसुरमा थप २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ ।
नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित ३४ जना विरुद्ध मुद्दा चलेको थियो । उनीहरू मध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।