Kath khabar
चीन बन्यो तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र

 

                 चीन, मंसिर २० ।  चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । यो सँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो राष्ट्र बनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भन्नुभयो, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो ।

भर्खरै भारतमा रहेको अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update