Kath khabar
भ्याट फिर्ताको माग सहित व्यापारीले बन्द गरे आलु र प्याजको कारोबार

 

                   काठमाडौं, मंसिर २१ ।  आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाडौं उपत्यका सहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिन अघि देखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजो देखि भने ठप्प भएको हो ।

व्यापारीको विरोधका कारण काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा आलु र प्याजको स्टल खाली हुन थालेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु र सुकेको प्याजको मूल्य सूचीसमेत राखेको छैन । व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारे पछि किसान र उपभोक्ता मर्कामा परेका छन्  । 

बजारमा आलु र प्याजको भाउ बढ्दो छ । तर, किसानले उचित मूल्य पाउन सकेका छैनन । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update