काठमाडौं, मंसिर २१ । रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेन विरुद्ध लड्न गएका काभ्रे मन्डन देउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।
युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियो अनुसार ढकाल सहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको हो । यो सँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ । यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।
ढकालको विषयमा भने मन्त्रालयले केही भनेको छैन । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भैसकेको छ । नेपालले रूस युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ ।
यस्तै नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन पनि रुसलाई आग्रह गरिसकेको छ । कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त देशहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।
यसैबीच अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ । काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२ जनालाई हिजो सार्वजनिक गर्दै प्रहरीले यस गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो ।
पूर्वसुरक्षाकर्मी समेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ।काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो।
परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्र बहादुर खत्रीले पूर्व सुरक्षाकर्मीहरूले नै नेपालीहरूलाई अवैध रूपमा रुस पठाउने गरेको बताए। रुस पठाउने प्रमुख एजेण्ट नै पूर्व सुरक्षाकर्मी रहेको खुलेको छ।
राम्रो आम्दानीको प्रभलोभनमा रुस जानेहरू पनि पूर्व सुरक्षाकर्मीहरू नै बढी छन्, एसएसपी खत्रीले भने। रुस युक्रेन युद्ध सुरु भएपछि हातहतियारबारे जानकार समेत रहेका पूर्व सुरक्षाकर्मीहरू त्यसतर्फ जाने गरेको उनको भनाइ छ। पक्राउ परेकाहरू मध्ये तीन जना प्रमुख एजेण्ट रहेको प्रहरीको भनाइ छ। जसमा हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल छन्।
प्रहरीले सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरेको थियो। त्यस्तै पक्राउ परेका अर्का व्यक्ति ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको एसएसपी खत्रीले बताए। उनीहरूले रुस जानेहरूसँग ७ देखि १२ लाख असुल्ने गरेको प्रहरीको भनाइ छ।
रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाइ त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूप मात्र भएको बताए। अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूपमात्र हो। यो भन्दा बिगर पिक्चार आउन बाँकी छ। प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ, एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने।
टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरिएको थियो। पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार रहेका छन्।
त्यस्तै काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी रहेका छन्।