काठमाडौं, मंसिर २२ । मंसिर १८ गते किरात धर्मगुरु आत्मनन्द लिङ्देनको ७० औँ जन्मोत्सव इलामको माङसेबुङमा सम्पन्न भयो । हरेक वर्ष गुरुको जन्मोत्सव भव्य कार्यक्रम सहित सम्पन्न हुने गरेको छ । विगतमा राजा देखि राष्ट्रपतिसम्म प्रमुख अतिथिको रुपमा सहभागी हुँदै आएको गुरु जन्मोत्सवमा यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा थियो । तर, उनी सहभागी हुन सकेनन् ।
प्रधानमन्त्री युएईमा सम्पन्न कोप-२८ मा सहभागी भएर मंसिर १७ गते राती मात्र स्वदेश फर्के । व्यस्तताका कारण प्रधानमन्त्री गुरु जन्मोत्सव समारोहमा सहभागी हुन सकेनन् । प्रधानमन्त्रीको निर्देशनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथिको रुपमा सहभागी भए । गुरु जन्मोत्सवमा सहभागी हुन नसकेका प्रधानमन्त्री प्रचण्डले मन्त्री किरातीलाई खाली हात पठाएनन् । किराती प्रधानमन्त्री प्रचण्डले पठाएको उपहार सहित गुरु जन्मोत्सवमा सहभागी भए ।
सम्बोधनको सुरुमा मन्त्री किरातीले ‘प्रधानमन्त्रीज्यूले गुरुज्यूलाई पठाउनु भएको उपहार टक्राएर मात्र आफ्नो कुरा अघि बढाउँछु’ भन्दै प्रधानमन्त्रीको उपहार गुरु आत्मनन्दलाई हस्तान्तरण गरे । प्रधानमन्त्री प्रचण्डले किरात धर्मगुरु आत्मनन्दलाई एक जोर दियो कलश उपहार पठाएका थिए । मन्त्री किरातीले उपहार हस्तान्तरण गर्दै गर्दा गुरु आत्मनन्दले ‘प्रधानमन्त्रीलाई धन्यवाद भनिदिनुस् है’ भनेर सन्देश पठाए ।
लामो समय देखि भव्य समारोह बिच जन्मोत्सव मनाउँदै आएका गुरु आत्मनन्दको जीवनमा यस्तो घटना पहिलो थियो । सामान्य समयमा उपहार आदान प्रदान हुँदै आएको भए पनि प्रधानमन्त्रीबाट सार्वजनिक समारोहमै यसरी उपहार हस्तान्तरण भएको नौलो घटना नै मानियो । प्रधानमन्त्रीको उपहार बोकेर माङसेबुङ पुगेका पर्यटनमन्त्री पनि खाली हात फर्केनन् । कार्यक्रममा सहभागी हुन नसके पनि प्रधानमन्त्रीलाई सम्मान गर्दै मन्त्री किरातीमार्फत नै जन्मोत्सव समारोह समितिले प्रधानमन्त्रीलाई सम्मान पत्र पठायो ।
जन्मोत्सव सम्पन्न गरेर मन्त्री किराती काठमाडौं फर्के । काठमाडौं फर्केर मन्त्री किरातीले गुरुको तर्फबाट पठाइएको सम्मान पत्र प्रधानमन्त्रीलाई सरकारी निवास पुगेर शुक्रवार हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्रीलाई सम्मान पत्र हस्तान्तरण गरेपछि मन्त्री किरातीले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘माङसेबुङबाट गुरु आत्मनन्दज्यूले पठाउनु भएको सम्मान पत्र सम्माननीय प्रधानमन्त्रीसम्म पुर्याएको छु । साथै, सबै माग र बस्तुस्थितको रिपोर्ट पनि पेस गरेको छु ।’
आगामी जन्मोत्सवमा सहभागी हुने प्रतिबद्धता :
सम्मान पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष व्यस्तताका कारण जन्मोत्सवमा सहभागी हुन नसकेको भन्दै आगामी वर्ष सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
सम्मान पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले भने - ‘गुरुको जन्मोत्सवमा सहभागी हुने चाहना थियो । सोही अनुसार समय व्यवस्थापन गर्न खोजिएको पनि थियो । तर, अति महत्त्वपूर्ण कार्यक्रमका कारण यसपटक सहभागी हुन सकिन । आगामी जन्मोत्सवमा सहभागी हुने छु । गुरुसम्म यो खबर पुगोस् है ।’
गुरु जन्मोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी हुन माङसेबुङ पुगेका मन्त्री किराती समक्ष विभिन्न माग पत्र समेत पेस गरिएको थियो । मन्त्री किरातीले उक्त माग पत्र समेत प्रधानमन्त्रीलाई बुझाएका छन् ।
माओवादी र माङसेबुङको विगत :
जनयुद्धको समयमा माङसेबुङ र माओवादी बिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङ बिच सौहार्द सम्बन्ध बन्दै गएको छ । यसपटक गुरु जन्मोत्सवमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले गुरुलाई उपहार पठाएर सम्बन्धमा थप न्यानोपन ल्याउने कोसिस गरेको हुनसक्ने विश्लेषण हुने गरेको छ ।