काठमाडौं, मंसिर २४ । विनियोजित बजेटमध्ये २१ अर्ब खर्चेर कृषि सामग्री कम्पनी लिमिटेडले ३ लाख ६४ हजार टन र ९ अर्ब रुपैयाँ खर्चेर साल्ट ट्रेडिङ कर्पोरेसनले १ लाख ५६ हजार टन मल आपूर्ति शुरु गरेका छन् । यसमध्ये कृषि सामग्रीले ६४ हजार ८ सय ८२ टन र साल्ट ट्रेडिङले ९९ हजार टन मल आयात गरिसकेका छन् ।
आयात भइसकेको कुल १ लाख ६३ हजार ८ सय ८२ टनमध्ये बिक्री भएर दुवै संस्थाको गोदाममा १ लाख २ हजार १ सय १२ टन मौज्दात राखिएको छ । अहिले धमाधम मल आयात भइरहेको कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले जानकारी दिए । ‘यो वर्ष समस्यामा पर्न नदिन साउन देखि नै टेन्डर प्रक्रिया शुरु गर्न लगाएका थियौँ । म आफैँ मल आयातको विषयमा निरन्तर लागेँ,’ कृषिमन्त्री भुसालले भने, ‘त्यसैले अहिले सहज रूपमा आयात भइरहेको छ ।’ सरकारको काम आयात गर्ने मात्रै रहेको र वितरणको जिम्मा सहकारीलाई दिएकाले विगतमा जस्तो समस्या हुन नदिने तर्फ सजग हुनुपर्ने उनले बताए । ‘विगतमा थोरै आएको मल समेत वितरणमा समस्या भयो, यसपटक समस्या नहुने गरी काम गर्नुपर्नेछ,’ उनले भने ।
मल आयातको जिम्मा पाएका कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार थप १ लाख ४३ हजार ३ सय ६२ टन मल आयात गर्ने आपूर्तिकर्ताले विभिन्न देशको बन्दरगाहबाट मल ल्याउन जहाजमा लोड (सिपमेन्ट) गरिसकेका छन् । बढीमा १ महिना भित्र नेपाल भित्रिन शुरु हुने उनको भनाइ छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले निरन्तरको प्रयास पछि यो वर्ष मल आयात केही सजिलो भएको बताए । ‘बजेटमै ठूलो रकम विनियोजन हुँदा आयातमा केही सजिलो भयो,’ उनले भने, ‘अर्कातिर रणनीति नै बनाएर हामीले यसपटक समयमै मल ल्याउने योजनालाई कार्यान्वयन गरेका हौँ ।’
कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त प्रबन्ध निर्देशक विष्णुप्रसाद पोखरेलले निरन्तरको प्रयास पछि यस वर्षका लागि छुट्याइएको सबै मलको टेन्डर गरिएको बताए । विगतमा टेन्डरबाट छनोट भएका आपूर्तिकर्ताले अन्तर्राष्ट्रिय बजार भाउ बढेको भन्दै सम्झौता अनुसार मल नल्याउँदा पनि समस्या भएको थियो । यो वर्ष भने छनोट भएका आपूर्तिकर्ताले नियमित रूपमा मल आयात गरिरहेको उनले जानकारी दिए ।
कृषि सामग्रीले यो वर्षका लागि कोटा भन्दा १५ हजार टन बढी हुने गरी ३ लाख ८० हजार टन मल खरिदका लागि १५ वटा टेन्डर गरेको छ । त्यसमध्ये १० हजार टन पोटास खरिदको टेन्डर रद्द भए पनि अन्य सबै सफल भएको उनले जानकारी दिए । १० हजार टन पोटासको पुनः २६ कात्तिकमा नयाँ टेन्डर भइसकेको छ ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी ब्रजेस झाले यो वर्षका लागि तोकिएको १ लाख ५६ हजार टन मल आयातको व्यवस्था भइसकेको बताए । कर्पोरेसनले सबै मल खरिदका लागि टेन्डर गरिसकेको र हालसम्म ९९ हजार प्राप्त भएको तथा ५६ हजार टन सिपमेन्ट भएको उनले जानकारी दिए । ‘चालू आवमा मल आयात समयमै शुरु गर्न गत वर्ष जेठमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गम्भीर समीक्षा भएको थियो,’ उनले भने ।