दुबई, मंसिर २४ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । आज आइतवार अफगानिस्तानसँगको खेलमा नेपाल ७३ रनले पराजित भयो ।
अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि राम्रो अङ्कमा रन जोड्न सकेनन् । नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बोहरा १५, दिपेश कँडेल ११, सुवाश भण्डारी ८, उत्तम मगर ४ तथा विपिन रावल, आकाश त्रिपाठी र हेमन्त धामी शून्य रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका फरिदून दवूदजाई र नसिर खानले समान ३ तथा मोहम्मद युनुसले २ विकेट लिए ।
यस अघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अब नेपालले पर्सि मङ्गलवार भारतसँग खेल्नेछ ।