Kath khabar
पशुपतिलगायत शिवालयहरुमा शतबीज छरेर मनाइयो बाला चतुर्दशी

 

                    काठमाडौं, मंसिर २५ ।  पितृका नाममा दिपदान गरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार रातभर दीपदान गरी, दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालय बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update