Kath khabar
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव

 

                  काठमाडौं, मंसिर २५ ।  मुलुककै देशको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा प्याज अभाव भएको छ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध शनिबारबाट लागु भएको हो। प्रतिबन्धका कारण बजारमा प्याज विहीन भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

‘आइतबार २०/२२ टन आएको थियोे। त्यो पनि राति नै बिक्री भयो। सोमबार पनि करिब त्यति नै आयो। अहिले बजारमा अलिअलि देखिएको छ,’ श्रेष्ठले भने। अघिल्लो साता कालीमाटीमा किलोको १ सयमा पाइने प्याजको मूल्य अहिले १४२ रुपैयाँसम्म पुगेको छ।

यो प्रतिबन्ध जारी रहे आगामी वैशाखसम्म बजारमा प्याज आउने छैन। केही व्यवसायीले उत्तरी छिमेकी चीनबाट अर्डर गरे पनि भारतबाट जस्तो सहज नहुने नेपाल कृषि उपज आलु प्याज आयात तथा थोक विक्रेता सघंका महासचिव प्रकाश गजुरेलले बताए।

‘केही साथीले चीनबाट मगाउनु भएको त छ, तर त्यसमा निकै जोखिम छ। चिनियाँ प्याज भारतीय जस्तो स्वादिलो हुँदैन,’ उनले भने, ‘यता, व्यवसायीले चीनबाट अर्डर गर्ने र उता भारतको प्रतिबन्ध खुल्ने भयो भने चिनियाँ प्याज बिकाउन सकिँदैन।’

यो प्रतिबन्धले कालोबजारी बढ्न सक्ने उनको भनाइ छ। ‘नेपाल सरकारले आलु र प्याजमा भ्याट लगाए पछि यसबाट उठ्ने राजस्व झनै कम भयो। यसको अर्थ खुला सिमाना भएकोले भन्सार बाहिरबाट सामान आयो,’ उनले भने, ‘त्यस्तै प्याजमा प्रतिबन्ध लागेपछि यो पनि भन्सार बाहिरबाट भित्रिन्छ र महँगोमा बिक्री हुन्छ।’

नेपालमा प्याज उत्पादन नगन्य रूपमा मात्र हुने भएकाले भारतको प्रतिबन्धले प्रत्यक्ष असर पर्ने गजुरेलको तर्क छ। ‘नेपाली किसानले आफूलाई खान पुग्नेमात्र प्याज लगाउँछन्। त्यस्तै धेरै प्याज सागकै रूपमा बिक्री हुन्छ। नेपाल प्याजमा धेरैजसो भारत र केही मात्रामा चीनको भरमा छ,’ उनले भने।

यो समस्या हटाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनी बताउँछन्। ‘यो समस्या हटाउन हामीले केही गर्न सक्दैनौं। सरकारले कूटनीतिक पहल गरेर भारतलाई मनाउन सक्यो भने बल्ल समस्या समाधान हुन्छ,’ गजुरेलले भने। यो विषयमा सरकारले विशेष कूटनीतिक पहल गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।

‘पहिलो कुरा त प्याज अत्यावश्यक कुरा होइन। यो नखाए पनि फरक पर्दैन तर यो समस्या प्याजमा मात्र होइन चामल, आलु लगायतमा पनि बेला-बेला भइरहन्छ,’ उनले भने, ‘त्यसकारण उनीहरूलाई बजार चाहिएको बेलामा मात्र होइन, हामीलाई आवश्यकता परेको बेलामा उनीहरूले सामान दिनुपर्छ।’

सरकारले वैज्ञानिक तथ्यांक अध्यन गरी कुन महिनामा, कुन वस्तु, कति आयात गर्नुपर्छ हेरेर त्यहीअनुसार कूटनितिक पहल गर्नुपर्ने उनले बताए।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा मात्र भारत र चीनबाट २ करोड २२ लाख ८२ हजार रुपैयाँको १ लाख २० हजार ७८४ किलो सुक्खा प्याज आयात भएको छ।

त्यस्तै २०७९/८० मा ११ करोड ७४ लाख ४ हजार रुपैयाँको १३ लाख २८ हजार ६११ किलो प्याज आयात भएको थियो। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update