Kath khabar
जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध

 

                    जनकपुर, मंसिर २७ ।  त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट शुरु भएको छ  ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका छन् । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ ।

नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकी सहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकारी दिए ।

गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए।

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बिहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष सिंहासनमा राखी रङ्गभूमि मैदानमा पुर्‍याइन्छ । यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रङ्गभूमि मैदानमा पुर्‍याइन्छ ।

भगवान् रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँच पटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहिआएको छ । भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई घुमाएर नगर दर्शन गराइएको छ । यस्तै, दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रङ्गभूमि मैदानमा सीतारामको प्रतिमा निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताउनुभयो । मूर्ति बनाउन अन्नको मात्र प्रयोग गरिने छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update