काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्न लागेको पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष ननाघेका युवा सहभागी हुन पाउनेछन् । सहभागीले पुसको १५ गतेभित्र ५०० शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ । प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मुल्याङ्कन गर्नेछन् । मुल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन् । प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।