Kath khabar
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ

 

                   काठमाडौं, मंसिर २७ ।  नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी सहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। आज मात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

बुधबार पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।

यस्तै पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै, एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका पनि उनले बताए।

एसएसपी राठौरले ९ जना माथि संगठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि जानकारी दिए । ८ जना धरौटीमा छुटिसकेका छन् ।

कागजात मिलाए बापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update