Kath khabar
आज बेलुका ८ बजे देखि नेपालबाट देखिनेछ मिथुन उल्का वर्षाको रमाइलो दृष्य 

 

                  काठमाडौं, मंसिर २८ ।  आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।

नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गते देखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो ।

अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । ‘यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स-साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेको देखिन्छ,’ भट्टराईले भने, ‘उल्का वर्षको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।’

उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण  (उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण) कम भएको  ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । 'उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ।'

उल्कावर्षा हेर्नलाई कुनै दुरविन वा टेलिस्कोपको आवश्‍यक नपर्ने पनि उनले बताए। 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update