Kath khabar
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु

 

               काठमाडौं, मंसिर २८ ।  नेपाल हस्तकला महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आजदेखि शुरु हुँदैछ । महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ ।

नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मेला हुँदै आएको छ । विदेशी प्रदर्शनीकर्ताले समेत मेलामा भाग लिने र भारत, चीन, पाकिस्तान, बङ्लादेश लगायतका देशबाट सहभागिता हुने महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पस्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँस लगायतका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् ।

महासङ्घका अनुसार वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब रुपैयाँ हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update