काठमाडौं, मंसिर २८ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरेको छ।
महानगरले बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएपनि अनुगमनको क्रममा काठमाडौंमा सुर्तीजन्य पदार्थ भेटिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । उनका अनुसार आज महानगर प्रहरीले विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ ।
काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरले जनाएको छ । महानगरले मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ।