काठमाडौं, मंसिर २८ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
आज बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिए पछि काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाए पछि खाण ७ महिना पछि छुट्ने छन् ।
यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिए पछि सुनुवाइ आजका लागि सारिएको थियो । जिल्ला अदालतको आदेश बमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मङ्सिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेल बीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ परेका थिए ।