काठमाडौं, मंसिर २९ । डा. गोविन्द केसीले आजबाट सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गर्दै साँझ ५ बजेदेखि तीन दिनका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्।
सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सत्याग्रह सुरु गर्न लागेको उनले बताएका छन् । डा. केसीले विगतमा भएका सम्झौता,सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यि मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जवाफदेही बनाउनका लागि हामीले देहायका मागसहित मंसिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ', उनले भनेका छन् ।
केसीले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आग्रह गर्दै भनेका छन्, 'सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस्।’