Kath khabar
जनकपुरमा अन्नबाट ११ हजार बर्गफिटको सीतारामको प्रतिमा निर्माण

 

                    जनकपुर, पुष १ । सीताराम विवाहपञ्चमी महामहोत्सवको अवसर पारेर जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ बर्गफिटको सीतारामको प्रतिमा निर्माण गरिएको छ।

त्रेता युगमा भएको राम सीताको विवाहको सम्झानामा जनकपुरमा मनाइने विवाह पञ्चमी महोत्सवको अवसरमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमा अवलोकनका लागि सर्वसाधारणको घुँइचो लाग्न थालेको छ।

रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा अन्नबाट सीतारामको प्रतिमा निर्माण गरिएको हो । प्रतिमाको लम्बाइ १२० फिट र चौडाइ साढे ९१ फिट रहेको छ । यसमा ११ प्रकारका अन्न प्रयोग गरिएका छन् । १०२ क्विन्टल अन्नको प्रयोग गरिने आँकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल अन्न प्रयोग भएका छन् ।

भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् ।उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ । प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ ।

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीताराम स्वंयम्वर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए । प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको उपाध्यक्ष साहले बताए ।

जनकपुरधामको वडा नंं ४ का गुनगुन मिश्रको परिकल्पनामा निर्माण भएको आकृति निर्माणमा २१ लाख खर्च भएको र यसको खर्च जनकपुरधाम उद्योग वाणिज्य संघ तथा जनकपुरधाम उपमहानगरपालिकाले बेहोर्ने भएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update