Kath khabar
स्वदेशी उद्योग भारतीय कामदारको भरमा, युवा कामको खोजिमा खाडिमा 

काठमाडौं, असार १३ । सिमा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगधन्दा भारतीय कामदारको भरमा छन् । भारतीय कामदार निषेधाज्ञाका कारण आउन नसकेकाले  सञ्चालन गर्न नै कठिन भएको छ ।

देशबाट बैदेशिक रोजगारीको खोजिमा प्रत्येक दिन १८ सय कामदार बाहिरिने गरेकोमा स्वदेशका उद्योग भने भारतीय कामदार नआएकाले सञ्चालन गर्न असहजता पैदा भएको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा रहेका रुपन्देही, विराटनगर, वीरगञ्ज, पथलैया, सिमरा, हेटौंडादेखि काठमाडौं सम्मैका औद्योगिक क्षेत्रमा कामदारको अभाव छ । महामारी र निषेधाज्ञाका कारण भारतीय श्रमिक सजिलै आउजाउ गर्न नसक्दा उद्योग चलाउन कठिन भएको उद्योगी बताउँछन्  ।

सिमेन्ट र खाद्य उद्योगमा भारतीय श्रमिक चाहिन्छ । भौतिक पूर्वाधार निर्माणसम्बन्धी उपकरण चलाउनेदेखि सडकको कालोपत्रे र अक्सिजन उद्योगसम्म भारतीय श्रमिककै भर पर्नुपरेको छ ।

नेपालमा रहेका ३६ लाख गाडीको मर्मतमा आधाभन्दा बढी हिस्सा भारतीय श्रमिकले नै धानेको अटोमोबाइल डिलर्स एसोसिएसन बताउँछ । डेढ महिनाअघि नेपालमा अक्सिजनअभाव हुँदा उद्योगीले उत्पादन बढाउन बिदामा बसेका भारतीय प्राविधिकलाई नै बोलाउनुपरेको उद्योगीहरु बताउँछन् ।

भारतबाट नेपाल भित्रिने रकम जम्मा १ खर्ब ३० अर्ब हाराहारी छ । तर, दक्ष जनशक्तिमा हाम्रो परनिर्भरता बढ्दै गर्दा नेपालबाट भारत जाने रेमिट्यान्स पनि वार्षिक ३ खर्ब हाराहारी पुगेको छ  ।

दक्ष जनशक्तिको परनिर्भरता घटाउन र स्वदेशमै उत्पादनका लागि भन्दै बर्सेनि ठूलो रकम खर्चिए पनि त्यसको प्रभाव कतै देखिएको छैन । यसपाली पनि बजेटमा करिब साढे ४ अर्ब रुपैयाँ छुट्याइएको छ । सीटीईभीटी मातहतका संस्थाहरुको क्षमता विकास गरी ७५ हजारलाई तालिम दिने बताइएको छ ।

वैदेशिक रोजगार बोर्डले १० हजारलाई तालिम दिने बताएपनि बीचमै कार्यक्रम रोकिएको छ । श्रम मन्त्रालय अन्र्तगत स्वीस सरकारको तालिम कार्यक्रम पनि सार्थक हुन सकेको छैन । 

सरकारले उच्च प्राविधिक उत्पादन गर्न नसक्दा र देशमै काम गरौ भन्ने भावना जागृत गर्न नसक्दा देशका युवा कामको खोजिमा बिदेश जानु परेको छ । यसका साथै स्वदेशका उद्योगले कामदार नपाएकाले नेपालको पैसा पनि बिदेशी कामदार मार्फत बाहिरिरहेको छ।

यो वर्षको फागुनसम्म रोजगार सेवा केन्द्रमा सात लाख ४३ हजार बेरोजगार सूचीकृत छन् । प्रत्येक वर्ष बढ्दै गएको बेरोजगारी सरकारलाई टाउको दुखाइ बनिरहँदा देशमा सञ्चालित उद्योगहरुले भने जनशक्ति नै पाउन सकेका छन् ।

स्वदेशमा आवश्यक दक्ष जनशक्ति उत्पादन नहुँदा एकातिर परनिर्भरता बढेको छ भने अर्कोतिर स्वदेशका अवसरमा यहीका युवाले रोजगारी पाएका छैनन् । सरकारले स्वदेशका युवालाई तालिम दिएर यहाँका उद्योगमा लगाउन सके बेरोजगारीको समस्या हल हुने मात्रै होइन विदेशी कामदारका लागि स्वदेृशबाट बाहिरिने रकममा समेत कमि आउनेछ ।  

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update