Kath khabar
नेपाल आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र साहलाई


                   काठमाडौं, पुस १ ।  नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।

उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालका अनुसार निगमको बरिष्ठ नायब कार्यकारी निर्देशक रहेका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमिक्त प्रमुखको जिम्मेवारी दिइएको हो। 

‘निगम भित्र सबैभन्दा बरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको छ’ मन्त्री रिजालले भने।

निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै अचानक राजीनामा दिएका थिए। उनको राजीनामा पछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको हो।

१५ वर्षअघि निगम प्रवेश गरेका साह सुरुदेखि हालसम्म अर्थ विभागमै कार्यरत छन्। उनले चार्डट एकाएन्टेन्ट (सिए) पढाई गरेका हुन्। उनले अर्थ विभाग सम्हालेयता निगमको नियमित रुपमा बार्षिक लेखापरिक्षण हुँदै आएको छ।

निमिक्त प्रमुखको जिम्मेवारी पाएका साह निगमको अर्थ र मानव संसाधन विभागको नेतृत्व गर्ने नायब कार्यकारी निर्देशक भएर काम गरिरहेका छन्। नायब कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल हुने भएकाले साहको निगममा करिब दुई वर्ष मात्रै सेवा अवधि बाँकी छ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update