काठमाडौं, पुस ३ । भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । कोरोनाको नयाँ सब-भेरियन्ट कोभिड जेएन-१ भारतको केरलामा फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसबाट गत १७ डिसेम्बरमा चारजनाको ज्यान गएको छ। अर्कातिर नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोभिडबाट शनिबार एकजना संक्रमितको ज्यान गएको छ। तर उनी कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भए-नभएको खुलेको छैन।
नयाँ सब-भेरियन्ट जेएन डट वानलाई लिएर कर्नाटक सरकारले चेतावनी जारी गरेको छ । अर्कातिर केरलामा स्वास्थ्य मन्त्री विना जार्जले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै निरन्तर अनुगमन भइरहेको उल्लेख गरेका छन्।
यस प्रकारको सङ्क्रमण चीन र अमेरिकामा पनि भेटिएको छ । भारत बाहेक सिङ्गापुरमा पछिल्लो एक सातामा ५६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले सबै नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । मन्त्रालयका अनुसार डिसेम्बर ३ देखि ९ सम्ममा ५६ हजार ४३ नयाँ संक्रमित भेटिएका छन् ।