काठमाडौं, पुस ३ । चीनमा आज मध्यरातमा शक्तिशाली भूकम्प गएको छ । चीनको उत्तरपश्चिमी प्रान्त मा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म १११ पुगेको छ ।
भूकम्पमा दुई सयभन्दा बढी घाइते भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। चीनको उत्तरपश्चिमी प्रान्त गान्सुको जिशिशान काउन्टीमा राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । गान्सु प्रान्तमा ८६ र छिमेकी छिङहाई प्रान्तमा ११ जनाको मृत्यु भएको बताइएको छ ।
करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।
भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रिने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका सबै भिडियोमा मानिसको चिच्याहट सुन्न सकिन्छ । भिडियोमा भत्किएका भवन र भत्किएका सडकहरु देखिन्छन् । गत वर्ष सेप्टेम्बरमा पनि चीनमा ६.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा ७४ जनाको मृत्यु भएको बताइएको छ ।