Kath khabar
शुरु भयो कीर्तिपुर र चन्द्रागिरी भेगमा सातगाउँले जात्रा

 

                 कीर्तिपुर, पुस ४ ।  कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी ३ दिन सम्म स्थानिय जात्रा मनाउने चलन पाइन्छ ।

नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छोयला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ ।

भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय: मानिसहरूको घरघरमा तःखाः (थलथले मासु) बनाउने गर्दछन् । भूःयाको भोलिपल्ट मुख्य जात्रा हो भने आफ्नो साथीभाई आफन्तलाई जात्रामा भोज स्वरूप चिउरा, गेडागुडी, अचार, छोयला, तःखाः पुकाः ला, दही आदी राखेर खुवाउने चलन छ । यस जात्राको विशेषता भनेको यो जात्रा जाडो मौसममा हुने भएकोले यो जात्राको समयमा त्यस भेगका वासिन्दाले बनाउने तःखाः (थलथले मासु) हो जुन विभिन्न प्रकारको हुन्छ ।

परम्परा अनुसार सातगाउँका शक्तिपीठ मध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वास अनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँलेले बाजागाजा ल्याउँछन् ।

आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरु बीचमा उछिन पाछिन भएको किंवदन्ती अनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् । भेटघाट शुरु भएको वर्ष क्रम अनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गार सहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमा तर्फ पीठ फर्काएर बाहिरै बसिन् ।

त्यस यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको २ स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।

तःखाः (थलथले) मासु राङ्गाको छाला सहितको मासुलाई ठूलो ठूलो चोक्टामा कुंई (चुलेसो) ले काट्ने र ट्वाना (खुट्टाको मासु), न्हेपःपो (पुच्छरको मासु), छ्याँ: (टाउकाको मासु) भएको खण्डमा अझ राम्रो मानिन्छ । काटेको मासु मध्ये छाला र मासु २ भागमा छुट्याइन्छ । तामाको ठूलो भाँडा फोसी या जःसी मा मासुलाई चाहिने अनुसार पानी तताइन्छ र यसलाई धेरै वेर पकाउनु पर्ने भएकोले पानीको मात्रा बढी नै चाहिन्छ ।

पानी उम्लिनु भन्दा अगाडी एउटा मलमल कपडामा जिरा गेडा, धनिया गेडा, र तेजपातलाई पोको पारी पानीमा डुवायर राख्ने गरिन्छ । पानी उम्लिए पछि छालालाई पहिले हालेर पकाउने गरिन्छ । एवं रितले आगो धेरै वेर पकाए पछि छाला कत्तिको पाक्यो भनेर आधा आधा घण्टामा निकालेर हेर्नु पर्दछ र छाला आधा पाकेपछि अरु मासु पनि त्यसमा हालेर पकाउने गरिन्छ । यही प्रक्रियाबाट कम्तीमा ६-७ घण्टा जति पकाइसकेपछि तिः (झोल) र कुः (चोक्टा मासु) बीचको अनुपात मिलाउनु पर्दछ । यदि झोल कम छ भने झोल थप्न पानीलाई अगाडी नै उमालिराख्नु पर्दछ । झोल र मासुको अनुपात मिलेपछि सन्या खुना (पिरो थलथले) को लागि झोल र अलि अलि मासु चाहिए जति झिक्ने गरिन्छ ।

 किंबदन्ती :

मल्ल कालदेखि नै नगरक्षेत्रमा सातगाउँले जात्रा 'लाखेपा' मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरि राजकुमारले उक्त क्षेत्रबाट हटाए पछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ। मङ्सिर शुक्ल चतुर्थीका दिन देखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिन सम्म लाग्छ।

 

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update