काठमाडौं, पुस ५ । विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमाथि राजीनामा दिन चौतर्फी दबाव परेको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले भनेका थिए "क्रिस्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो। र कसैको धाकधम्कि र त्रासमा बस्नुपर्ने आजको जमाना पनि होइन । यदि कसैले त्यसो भन्छन् भने तिनका कुरा घाममा सुकाईदिए हुन्छ ।"
उनको यो अभिव्यक्तिपछि राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले उनको विरोध गर्दै मन्त्रीबाट राजीनामा दिन सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किराँतीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउँदै उनले सामाजिक संजालमा लेखेका "संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।"
यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्री किराँतीको राजीनामा माग गरेका छन् । थापाले सामाजिक संजालमा लेखेका छन्, "क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्छ । प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिक कारवाही गरियोस् ।"
यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पनि किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 'संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान् त अब रु उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या करिब ९८% रहेछ' भनेर व्यंग्य गरेका छन् ।
उनको भनाईलाई लिएर चौतर्फी आलोचना भएपछि मन्त्री किराँतीले मैले सहिष्णुता कायम गरौँ, संविधान पालना गरौँ भनेको हुँ भनेका छन् । "क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषीलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहोऔं । संविधानलाई नमान्ने देशद्रोही हो नि त, सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ’ उनले भने ।