Kath khabar
एनसेल महाघोटाला राज्य विरुद्धको अपराध भन्दै शान्ति समाजको विरोध प्रदर्शन, १७ जना गिरफ्तार


                        काठमाडौं, पुस ५ । एनसेल महाघोटाला प्रकरणमा राज्यलाई झण्डै तीन खर्ब रुपैँया हानी नोक्सानी पुर्याउने नियतले भएको चलखेललाई राज्य विरुद्धको अपराध भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । २०८० पुस ५ गते काठमाण्डौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

प्रचलित कानून अनुसार नेपाल सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्न चलखेल भइरहेको एनसेल महाघोटाला प्रकरणमा वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरूको संलग्नता रहेको र राज्यका विभिन्न निकायका पदाधिकारीहरू समेत सन्देहको घेरामा रहेको हुँदा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्न, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कानूनसम्मत दण्डित गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागिहरुले एनसेल महाघोटालामा संलग्न प्रधानमन्त्री/पूर्व प्रधानमन्त्रीलाई कारबाही गर, प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री देउवाको सन्दिग्ध सिंगापुर भ्रमणमा भएका “डिल” हरुबारे छानविन हुनुपर्छ, शिर्ष नेता मिलेकाः खरब खरब निलेका, यो सरकार कस्कोः तस्कर र विचौलियाको, एनसेल महाघोटाला प्रकरणः प्रधानमन्त्री दाहाललाई सत्तामा बस्ने नैतिकता छैन, एनसेल महाघोटाला प्रकरणमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्रीहरुको संलग्नता, देशलाई झण्डै तीन खर्ब रुपैँया हानी पुर्याउने चलखेल राज्य विरुद्धको अपराध हो, एनसेल महाघोटालाः विश्वसनीय न्यायिक छानविन आयोग गठन गर, भ्रष्टाचारको धमिराले लोकतन्त्र खाइसक्यो, भ्रष्टाचारमा शुन्य सहनशिलता केवल नाराः देशलाई खरबौ नोक्सान पार्ने शीर्ष नेताको पारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनबाट प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, भगवान पुडासैनी, विकास थापा, सानु लामा, रोज विष्ट, बुद्ध रिसालसहित १७ जनालाई गिरफ्तार गरि नगर प्रहरी (नेपाल पुलिस क्लब) भृकुटीमण्डपमा राखेको छ ।

एनसेल महाघोटाला प्रकरण विरुद्ध निरन्तर नागरिक निगरानी र खबरदारी स्वरुप मानव अधिकार तथा शान्ति समाजले नयाँ आन्दोलन प्रारम्भ गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update